logo
The 2015 Earthquake, experience and perception; Abroad and in Nepal  (in Nepali)

The 2015 Earthquake, experience and perception; Abroad and in Nepal (in Nepali)

२०७२ सालको भुइँचालो, भोगाइ र अनुभूति : परदेश र स्वदेश

डा कृष्ण अधिकारी

 

यो लेखमा हजारौं जीउधन र लाखौँ घरबास उठाएर तहसनहस पारेको २०७२ सालको भुइँचालोको बारेमा मेरा केही अनुभवहरू लेखेको छु । पीडा वा उद्धार वा दुवै हिसावले यो मेरो भोगाइ सामन्य हो र यो किमार्थ रोमाञ्चक छैन् । मेरोभन्दा बाड्न लायक विशिष्ट भोगाइ र अनुभूति भएका लाखौँ  मानिस छन् । पहिलो ठूलो भुइँचालो आउँदा म बेलायतमा थिएँ । नेपालबाहिर बसेका नेपाली र नेपालका साथीहरूले कस्तो प्रतिक्रया देखाए भन्ने मैले देखेँ र भोगेँ । दोस्रो ठूलो भुइँचालो आउँदा म नेपालमा थिएँ । दुवै ठाउँमा रहँदा सानो भए पनि सहयोग जुटाउने र राहत वितरणमा संलग्न हुने कोशिस गरेँ । यो छोटो लेखमा मैले यसैलाई संस्मरण गर्ने कोशिस गरेको छु । यो आत्मपरक आलेखलाई तीन भागमा बाँडिएको छ : पहिलो परदेशको पाटो, दोस्रो स्वदेशको पाटो र अन्तमा सानो छलफल । विदेशको समेत प्रसङ्ग रहेकोले अंग्रेजी तिथिमितिको प्रयोग गरेको छु ।

 

परदेशको पाटो

अक्सफोर्ड विश्वविद्यालय, सामाजिक तथा मानवशास्त्र अध्ययन संस्थानबाट चलिरहेको जात, वर्ग र संस्कृति अध्ययन परियोजनाको कामको सिलसिलामा विगत सात महिनाको नेपालको बसाईपछि १० दिन अगाडि  (१५ अप्रिलमा) म बेलायत आइपुगेको थिएँ । बेलायत-नेपाल प्रज्ञा परिषदको महासचिवको हैसियतले बार्षिक साधारणसभा, कार्यकारी समितिको बैठक तथा लण्डनमा हुन लागेको तेर्हौं नेपाल अध्ययन दिवस र अफिसको अन्य काम सकेर केही दिनमा नेपाल फर्कने तरखरमा थिएँ ।

२५ अप्रिलको दिन बेलायतमा बिहानको ७.३० बजेको थियो (नेपालमा १२.१५) । नेपालमा केही समयअगाडि शक्तिशाली भुइँचालो आयो भन्ने खवर आयो । अनलाइन मिडियाहरू चेक गरेँ, कतै पनि समाचार देखिन् । फेसबुक हेरेँ अझैं पनि खवर थिएन् । ‘न्युज ब्रेक’को हिसाबले ट्वीटर अगाडि रहेछ । कुन्द दीक्षितको उडेको धुलोको आधारमा ‘आधा काठमाण्डौ ध्वस्त रहेको’ हुन सक्ने भनी लेखिएको पोस्ट पढ्दा माथ-मथिङ्गल रन्थनियो । अब हाम्रो व्यग्रता बढ्न थाल्यो, र म हर मिनेट नेपालको समाचार खोज्न र नेपालमा सम्पर्क गर्न तल्लीन रहेँ । त्यसपछि विस्तारै ‘अनलाइन पोर्टल’हरूमा सामान्य खवर आउन थाल्यो । सेतोपाटीमा भीमसेन टावर ढलेको भन्ने खवर छापियो तर थप विवरण दिइएको थिएन ।   

केही दिनदेखि आमा पनि भाइको परिवारसँग काठमाण्डौमा बस्दै आउनु भएको थियो । धेरै कोशिसपछि भाइलाई फोन लाग्यो र सबै घर छाडेर बाहिर बसेको र सुरक्षित रहेको तर निरन्तरको पराकम्पनले मानसिक र भौतिक त्रासदी दिइरहेको जानकारी पाएँ । उनीहरूलाई पनि खास कहाँ, के कस्तो क्षति भएको छ स्पष्ट रहेनछ । भुइँचालो आउँदा तीन तला माथिबाट परिवारका अरू सदस्य जेनतेन भाग्न सफल भएपनि बुढी आमा च्यानल गेट खोलेर भाग्न सक्नु भएनछ । दैव भरोसा भनेर भर्याङमै बस्नु भएछ । संयोगबस घर जोगियो र आमा पनि ।

फेसबुकमा पोखरातिरका मित्रहरू लाइभ देखेपछि त्यतातिर भौतिक पूर्वाधारहरू बचेका रहेछन् भन्ने भयो । रामचन्द्र अधिकारी र तुलसी अधिकारी च्याटमा भेटिनु भयो । ढिकुरपोखरीमा कृष्ण अधिकारी र खेमराज अधिकारीको घरमा बस्न जोखिम हुने गरी क्षति पुगेका र ठूलाचौरमा गङ्गा दाहालको घर पूर्ण क्षति भएको फोटाहरू देखियो । कास्की जिल्लाको पूर्वी भेगमा दुईजना मानिसको मृत्यु भएको तर अरू मानवीय क्षति नभएको भन्ने खवरले तुलनात्मक रुपमा कास्कीमा कमै क्षति रहेको पुष्टि भयो । आफ्नो गाउँमा धेरै घरहरू चर्केका तर घर छाड्न पर्ने गरी नभत्केको खवर पाएँ । मनमा केही राहत भएता पनि देश दुखेको यो अवस्थामा चैन हुने कुरै भएन । गाउँबाट काठमाण्डौ आएर बसेका सबैलाई फोन गरेँ र उनीहरू सकुशल रहेको थाह लाग्यो । सिन्धुपाल्चोकमा छोराको मित राजेश परियारको फेसबुकमा अस्पष्ट म्यासेज आयो: “घर सबै भत्कियो, बा र भाइ हराएका छन् ।” हामी बेचैन भयौँ । धेरै प्रयासपछि उनीहरु भेटिएको थाह लागेपछि मनमा शान्ति मिल्यो ।

गुगुल, फेसबुक जस्ता अनलाईन ‘मिडिया’हरूले ‘सेफ्टी चेक’ गर्ने पद्धति थालेका रहेछन् । त्यसमा पनि आफूले चिनेका सबै मानिसहरूको बारेमा जानकारी लिने, र सुरक्षित रहेका तर सो नजनाएकाहरूलाई सुरक्षित जनाउने कामहरू निरन्तर गरियो । भाइवर, स्काईप  आदि इन्टरनेटमा आधारित सञ्चारसेवा प्रदायकहरूले नेपालमा ‘ल्याण्डलाइन’ र मोबाइल फोनहरूमा निश्चित समयको निशुल्क फोन सेवा उपलब्ध गरेकोले पनि धेरैभन्दा धेरै इष्टमित्रलाई सम्पर्क गर्न पाइयो (तर घरको फोन सेवा प्रदायक भर्जिन मिडियाले भने ठग्यो, त्यस उपर उजुर दिन भ्याइन)। दोस्रो दिन फेरी ठूलो पराकम्पन आयो र क्षति बढायो । सुसूचीत हुने हाम्रो प्रक्रिया फेरी दोहरियो । दिनदिनै पराकम्पन आउने र त्रास बढ्ने क्रम रोकिएन । क्षतिको विवरणहरू आउन हप्तौं लागेकोले कम्पुटरमा झुण्डिने क्रम पनि हप्तौंसम्म चल्यो । सबै साथिहरूको हालत त्यही थियो । धेरै दिनसम्म अफिस गइएन, र काम पनि गर्न सकिएन ।

भुइँचालोले जनजीवन क्षतविक्षत पारेलगत्तै संसारभरका नेपालीहरू कसरी नेपालमा सहयोग पुर्याउने भनेर सक्रिय हुन् थाले । २५ अप्रिलमा हाम्रो स्थानीय सहर रेडिङमा नेपाली युवाहरूले नगद सहयोग सङ्कलन गर्न भेला बोलाए । वृहत्तर रेडिङ नेपाली समाजले पनि सहयोग उठाउन थाल्यो ।  रेडिङमा रहेको पेनी फर नेपाल’ले पनि तत्काल राहतको लागि दान दिन आव्हान गर्यो । नेपाल र नेपालीलाई माया गर्ने नेपाली तथा विदेशीले ‘जस्ट गिभिङ’ र ‘गो फण्ड मी’ जस्ता ‘अनलाइन’ मार्फत दान दिन मिल्ने पेजहरू च्याउसरी खोल्न थाले । साना ठूला संघसंस्थाहरू तथा कतिपयले व्यक्तिगत रूपमा नेपालको झण्डा बोकेर सडक, सपिङ सेन्टर, आफ्नो कार्यथलो, जताजतै सहयोगको याचना गर्न थाले । 

१० वटा संस्थाहरू आवद्ध रहेको र बेलायत सरकारले पनि मान्यता दिएको ‘डिजास्टर इमर्जेन्सी कमिटी’ले संस्थागत हिसावले सहयोग सङ्कलन गर्न थाल्यो । बेलायत सरकारको सुरुको रु ६० करोड सहयोगको अलावा जनताले चन्दा दिएकोमा २५ प्रतिशत थप गरीदिने उद्घोष गर्यो । २९ अप्रिलमा नेपाललाई माया गर्ने ‘गोर्खा’की चेली भनेर चिनिने जोआना लुम्लेले यो अभियानलाई नेतृत्व दिएपछि एकै रातमा तीन अरबभन्दा बढी रूपैया दान चन्दा उठ्यो । बेलायती जनताको सदासयताको अनुपम उदाहरण दखियो । हालसम्म लगभग साढे तेह्र अरब सङ्कलन भएर बेलायती जनताले नेपाललाई सहयोग दिनेको विश्व मानचित्रमा आफूलाई सबैभन्दा अग्रस्थानमा उभ्याएका छन्  । यति रकम पाकिस्तान र कस्मिरमा भएको दैवी प्रकोपमा पनि जुटेको थिएन ।

बेलायतबाट यसअघि चर्चामा नआएका केही उदाउँदा नेपाली व्यापारीहरूले अपत्यारिलो किसिमले दान दिने घोषणा गरे । उनीहरूमध्ये ठूलो दान गर्नेमा फेसन उद्योगका रबी लामिछाने रू ५१ लाख र करोडौंका जिन्सी सामाग्री (नेपाली सेना र प्रहरीमार्फत), उत्तम नेपाल रू ५० लाख, अर्का रेष्टुरेन्ट व्यापारी मिलन भट्टराई रू ५० लाख छन् । एनआरएनएलगायत, जातीय, क्षेत्रीय, पेसागत तथा राजनीतिक सङ्गठनहरूले करोडौं उठाए र पठाए | बेलायतबाट डाक्टर नर्सलगायतको उद्धार टोलिहरू नेपाल आए | कतिपयले व्यक्तिगत रुपमा भ्रमण गरेर उद्धार र राहतमा सहभागी भए । फेसबुक, गुगल, आवाज जस्ता संस्थाले समेत बेलायतलगायत संसारको विभिन्न देशहरूबाट ठूलो रकम सङ्कलन गरे । ‘गो फण्ड मी’ मार्फत हालसम्म १,७१८ जनाले ८७,९२२ जनाबाट लगभग रू ७७ करोड उठाइ सकेका छन् |

सहयोगको याचना गर्ने यति धेरै व्यक्ति तथा संघसंस्था निस्किए कि ति सबैलाई सहयोग दिन एकातिर सम्भव थिएन भने अर्कोतिर त्यसको उपयोग कसरी हुन्छ भन्ने पनि स्पष्ट हुने आधारहरू थिएनन् । म आवद्ध स्वयंसेवी संस्थाहरू नेपाल अध्ययन केन्द्र र बेलायत-नेपाल प्रज्ञा परिषदले के गर्ने भन्नेबारेमा छलफल गरियो । दुवै संस्थाले विज्ञप्ति निकालेर आफूले अरूबाट सहयोग नउठाउने तर सहयोगको लागि परोपकारी संस्था मार्फत चन्दा दिन अपिले गर्ने, र भुइँचालोले पारेको असरको बारेमा महत्वपूर्ण पत्रपत्रिका तथा सञ्चार माध्यमबाट प्रचारप्रसार र ज्ञान अभिवृद्धि गर्ने निधो गरी काम गरे । परिषदले दाताहरूलाई जिन्सीको सट्टा नगदै पठाउन आग्रह गर्यो । उक्त केन्द्र र परिषदका पदाधिकारीहरू महत्वपूर्ण सञ्चार माध्यम (बिबिसी टिभी, स्काई टिभी, आइटिभी, बिबिसी रेडियो क्षेत्रीय प्रसारणहरू, अलजाजिरा टिभी) आदिमा निरन्तर अन्तवार्ता दिई स्थापित परोपकारी संस्था मार्फत नेपाललाई मन खुलाएर सहयोग गर्न अपिल गरिरहे । बिगत १० बर्षमा १५० करोड रुपैयाँ दान चन्दा उठाएको र नेपालको लागि पनि सहयोग उठाउन लागेको लण्डन स्थित इस्लामिक च्यानलमा २७ अप्रिलका दिन राजकुमार त्रिपाठी र मैले आधा घण्टा ‘लाइभ’ अपिल कार्यक्रममा अन्तरक्रिया गर्यौं ।

नेपाल अध्ययन केन्द्रमा आवद्ध हामी स्वयंसेवीहरूले अन्य विभिन्न संस्थाहरूलाई  दिएको दानको अलवा सानो भए पनि एक छुट्टै कोष खडा गर्ने निधो गरी आन्तरिक रूपमा रकम सङ्कलन गरियो। रकम कसरी र कहाँ पठाउने भन्नेबारे व्यापक बहस भयो तर मत बाझियो   । केन्द्रका नेपाली सदस्यहरूले सहयोगलाई प्रधानमन्त्री राहत कोषमा पठाउनु पर्छ भन्ने मान्यता राखेका भएता पनि केही गैर-नेपाली सदस्यहरूले सरकारको विश्वसनीयतामाथि प्रश्न चिन्ह गर्ने ठाउँ रहेको हुँदा आफूले कष्टपूर्वक कमाएर दिएको पैसा सदुपयोग हुनेमा ढुक्क नभएको विचार राखेपछि हामी सबैले विश्वास गरेको गैर सरकारी संस्था ग्रामीण स्वावलम्बन विकास केन्द्र (आरएसडिसी) माफर्त मेरो नेतृत्वमा सिधै सहयोग पुर्याउने निर्णय गरियो ।

जिन्सीभन्दा नगद सहयोग गर्न हामीले गरेको अपिलको बाबजुद छोरी उषाले उठाएको जिन्सी सामानले हाम्रो घर भरिसकेको थियो । ‘एअरलाइन्स’हरूले ढुवानीमा छुट दिन छाडेपछि यो सामान सङ्कलकलाई त बुझाइयो तर नेपाल पुग्यो कि पुगेन थाहा भएन ।

म बिदेशमा थिएँ तर मेरो मन नेपालमा थियो । म जति सक्यो चाँडो नेपाल जान चाहन्थेँ तर विश्वविद्यालयको सुरक्षा, विमा आदिको प्रक्रिया पूरा गरेर अनुमति पाएँपछि मात्र भ्रमणको कार्यक्रम तय गर्न सकिन्थ्यो । ‘फिल्ड’ क्षेत्रको सुरक्षाको अवस्थाको बारेमा बेलायत सरकारको ‘फरेन एण्ड कमनवेल्थ अफिस (एफसीओ) को’ अनलाइन सल्लाह के छ हेरी चित्तबुझ्दो जवाफ दिएर मात्र यो प्रक्रिया पूरा हुन सक्थ्यो । नेपाल असुरक्षित रहेको र अत्यावश्यकबाहेक अरू कुनै पनि काममा नेपाल भ्रमण नगर्न कडा सल्लाह दिइएको हुँदा ‘सेफ्टी’ अफिसबाट तत्काल भ्रमण नगर्न सुझाइयो । यसै बीच मार्क टुरिनको अनुरोधमा राष्ट्र संघीय नेपाल संयोजकको कार्यालयले तयार पारेको भुइँचालोपछिको नेपालको अवस्था चित्रित गर्ने अङ्ग्रेजीमा लेखिएका केही दैनिक अध्यावधिक प्रतिवेदनहरूलाई स्वयंसेवीको रुपमा  नेपालीमा अनुवाद गरेर केही दिन बिताएँ । सहकर्मी डेविड गेल्नरसहितको सहयोगमा नेपालमा अब ठूलो भुइँचालो जाने सम्भावना नभएको, पोखरा क्षेत्रमा पहिलो भुइँचालोले क्षति त्यति नपारेको र जनजीवन सामान्य भइसकेको भन्ने जिकिर गरेर भ्रमण स्वीकृत गराएँ ।

 

स्वदेशको पाटो

अन्तत: १० मेमा नेपाल यात्रामा निस्केँ  । म काठमाण्डौ कस्तो भयो होला? नेपालको हालत के छ होला ? भन्ने भययुक्त खुल्दुली लिएर नेपाल हानिएँ । दिल्ली विमानस्थलमा सिन्धुपाल्चोकका एक लामा थरका नेपाली  भेटिए । भुइँचालोमा उनको परिवारका सदस्य सकुशल रहे पनि सम्पत्ति पूर्ण क्षति भएको रहेछ । त्यसको पीडाले एक हप्तापछि उनकी आमाको मृत्यु भएको कारण उनी मौरिससबाट छुट्टी लिएर नेपाल आउँदै गरेका रहेछन् ।

त्रिभुवन विमानस्थलमा झरेर बाहिर निस्केँ । पहिला भाइको परिवारलाई भेट्न ओम् शान्ति चोक पुगेँ । आमा गाउँ (सेराचौर) फर्कीसक्नु भएको थियो । भाइ क्षतिको विवरण सङ्कलन गर्ने सिलसिलामा गोरखामा खटिएर गएको र भतिजबाहेक अरू परिवार घरमा फर्किसकेका रहेछन् । उ घरमा फर्कन डराएर अझै बाहिरै सुतेको रहेछ ।

विमानस्थलबाट ओम् शान्ति चोक हुँदै शहिदगेटसम्म बाटोको वरिपरी अवलोकन गर्दा कतै यो ठाउँमा भुइँचालो गएको थियो भन्ने निशाना पनि देखिएन । चार जना मानिसको मृत्युहुने गरी ढलेको शान्तिनगर गेट हटाएर सफा गरिसकेको रहेछ । तुलनात्मक रुपमा कम प्रभावितहरूको लागि सायद दुई हप्ताको समय प्रयाप्त हुने रहेछ क्यारे, सरसर्ती अवलोकन गर्दा आश्चर्यजनक रुपमा जनजीवन सामान्य भइरहेको थियो । मानसिक पीडा सरसर्ती हेर्दा देखिने कुरै भएन । पराकम्पनको त्रास छदै थियो । काठमाण्डौको गोंगबु क्षेत्र नराम्रोसँग ध्वस्त भएको कुरा टयाक्सी ड्राइभरले बताए । आजै दिउँसो मात्रै अर्को पराक्म्पन गयो रे, जुन मैले अनुभव गर्न सकिन । टुँडिखेलमा पुगेपछि केही रङ्गीविरङ्गी टेन्टहरू देखिए जसले भुइँचालोको असरलाई सम्झायो । बसन्तपुर दरबार क्षेत्रमा पुगेपछि भुइँचालोको असर कति गहिरो थियो भन्ने झन् प्रष्ट भयो । दरबार क्षेत्रका कतिपय धरोहरहरू त्यहाँ थिएनन । सो क्षेत्रलाई बार बारेर प्रवेश निषेध गरीएको थियो । त्यहाँ एकजना अष्ट्रेलियन ‘टुर अपरेटर’ सँग भेट भयो । उनी पाटन दरबार स्क्याएर पुगेर फर्केका रहेछन् । उनले भने “पाटनभन्दा बसन्तपुर दरबार क्षेत्रमा बढी क्षति भएको रहेछ ।” पाटन त पुग्न सकिन तर सुन्धारा गएर ढलेको धरहरा हेरेँ र खिन्न हुँदै बासस्थान तिर लागेँ  ।

भोलिपल्ट मौसमको कारणले पोखराको लागि उडान हुन् नसकेपछि पर्सिपल्ट मे १२ का दिन बिहानको उडानबाट पोखरा पुगेँ । यादवराज अधिकारी भाइ र म मालेपाटनमा एक आफन्तको मृत्युको १३ औँ दिनको शुद्धिकार्यमा भाग लिँदै थियौँ । हामी घरबाहिर राखिएको टेन्टभित्र थियौँ । यादबले एक्कासी “लौ भुइँचालो आयो, भागौँ” भने तर मैले पत्तै पाइन । हाम्रोअगाडि बराही उच्चमाविको गेट थियो हामी विद्यालयको मैदानमा गयौँ । विद्यालयको भवनको छतबाट निस्केका रडहरू अलिअलि कामीरहेका थिए तर ‘पिलर’बाट निस्केको डण्डीमा बढी र लामो कम्पन देखियो । मैले सोचेँ यो सानो पराक्म्पन होला, तर यादवले यो निक्कै ठूलो (६.५ रेक्टर स्केल माथिको) हुनसक्ने जिकिर गरे । इन्टरनेटमा कति  ठूलो भुइँचालो हो खोज्न सकिएन । डेभिड गेल्नरलाई फोन गरेर इन्टरनेट हेर्न लगाएको त नाम्चे बजारलाई  केन्द्र बनाएर  ७.३ रेक्टर स्केलको भुइँचालो गएको थाहा लाग्यो । मोवाइलमा चेक गरेको त अक्सफोर्ड विश्वविद्यालयबाट सुरक्षा अधिकृत मिसेलको इमेल आइसकेको रहेछ । सकुशल रहेको जानकारी दिएँ । मनमा अनयास डर थपियो । इष्टमित्र साथिभाइ सबैलाई फोन गरेँ । सबै ठीक भएको खवर आयो । संयोगले भाइको ज्यान बचेछ । एक क्षतिग्रस्त घर निरिक्षण गरेर फर्केको १५ सेकण्डपछि भुइँचालो आएर त्यो घर पुरै गर्ल्यामगुर्लुम ढलेको रहेछ ।

मानिसहरू सडकमा सुत्न फर्कने क्रम फेरि सुरु भयो । अब ठूलो भुइँचालो आउँदैन भन्ने जुन विश्वासको बातावरण सृजना भएको थियो त्यो चकनाचुर भयो । मानिसहरूमा त्रास ब्याप्त भयो । गाउँ गएर आमालाई भेटौं कि शहरमा दिदी बहिनीको पक्की घरमा बसौं भन्ने मानसिक द्वन्दको बावजुद पनि म गाउँमा जाने निधो गरेँ ।

ठूलो असर नपरे पनि गाउँका २५ प्रतिशत घर,गोठमा केही क्षति पुगेको  रहेछ । केही घरहरु बाहिर चर्केका तर धेरै घरहरु भित्र माथिल्लो तलामा चारै कुनामा धेरै चर्कोको देखियो । सहरका पक्की घरको तुलनामा गाउँका ढुङ्गामाटोका घर बढी क्षतिग्रस्त, तिनमा पनि पुरानाभन्दा नयाँघरमा तुलनात्मक बढी क्षति रहेको देखियो । गाउँमा रहेको एकमात्र पुरानो खरले छाएको घुमाउने घर सकुशल रहेछ ।   चौकोसे घरको तुलनामा घुमाउने घरको कम्पन बहन क्षमता बढी हुने रहेछ । काठमाण्डौको तुलनामा  पोखरा र पोखराको तुलनामा गाउँमा भुइँचालोको जोखिमप्रतिको संवेदनशीलता भने कमी रहेको पाएँ । म भने बिलखबन्दमा परेँ : ढुङ्गाले छाएको घरभित्र सुतौँ कि टिनले छाएको कोठीमा, कि कुनै तरिका मिलाएर घर बाहिरै । आमाले घरभित्र सुत्ने क्रमलाई निरन्तरता दिनु भयो, म कोठीमा सुत्न सुरु गरेँ ।

त्यसपछि धेरै पराकम्पन आए । कोही भन्छन् भुइँचालो आयो, कोही भन्छन भुइँचालो गयो । न आएको थाह पाउँछु न गएको । १६ मेमा दोलखा केन्द्रबिन्दु पारेर ५.५ रेक्टर स्केलको  पराकम्पन आएर गएछ । हामी एकजनाको पिढीमा थियौँ । अरुले भनेपछि पो थाहा भयो । राति भुइँचालोको सूचक केही तरिका गर्नु पर्यो भनेर मिनरल वाटरको खाली बोतलमाथि स्याम्पुको भरी बोतल राखेर सुतेँ । बिहान एक्कासी गह्रौं बोतल भुइँमा बजारियो । छाना खसेछ क्यारे भन्ठानेर दौड्दै बाहिर जाँदा त भुइँचालोको सुरसारै देखिएन । आमालाई मठ-चौकामा शान्तिपूर्वक ध्यानमा बसेको देख्छु । आफ्नै लात्तिले पो लागेछ । त्रास न हो ।

सामान्य असर भएकासमेत एकाधबाहेकका मानिसहरू सरकारले के दिन्छ भनेर खोजीमा लाग्न थाले । म स्थानीय गाविसको कार्यलयमा गएँ । सचिव र अरु कर्मचारी जनगुनासो थेग्न नसकेर थकित मुद्रामा रहेछन् । कसरी राज्य दोहन गर्न सकिन्छ भनेर कम क्षति भएका मानिसहरू पनि लागेको देखेर सचिव निराश देखिए । गाविसमा लगभग ४५० जति (२५ प्रतिशत घरधुरीको) आवेदन परेका रहेछन् । मलाई पनि बैठकमा बोलाए । हामीले सरकारले दिएको प्रावधानलाई अक्षरस पालना गरेर ११ वटा घर पूर्ण क्षति भएको र केहीको थप अध्ययन गर्नु पर्ने निचोड निकाल्यौं  । तरपछि अरू केही जिल्ला र गाविसको खवर बुझ्दा त्यहाँ पूर्ण क्षतिको सूचीमा चढेका २५ प्रतिशतभन्दा बढी मानिसहरू विभिन्न प्रभाव पारेर समावेश भएको भन्ने अनौपचारिक सूचनाहरू भेटिए ।

हाम्रा सहयोगी एकजना बेलायती स्वयंसेवकले यति ठूलो विपत् आउँदा पनि कतिपय स्थानीय मानिसहरूमा कुनै असर नदेखिएको, मानौं देशमा कुनै विपत्ति नपरेजस्तो गरी हाँसो र ठट्टा र रमाइलो गरेको देखेर चिन्तामिश्रित आश्चर्य जनाए । ठूलो राष्ट्रिय विपत्तिमा पनि किन धेरै मानिसहरू आफूमात्र लिन खोज्छन्, आफूभन्दा आपतमा परेकालाई सहयोग गर्ने किन जुट्दैनन भन्ने प्रश्नले मेरो मनमा घोची रह्यो ।  

यसैबीच सहयोगी मनहरूलाई निरुत्साहित गर्ने खालका खवरहरू पनि आउन थाले :  केही उद्धारमा खटिनेले सहयोगको नाममा राहतमा आएको सामग्री आफ्नो घरमा ओसार्ने गरेको, वास्तविक पीडितका नाममा ठूलाबडाको हालीमुहाली भएको, राज्यबाट सहयोग पाइन्छ भनेर भूकम्पको खास प्रकोप नै नभएका हुने खानेले पनि लाजै नमानी २,३ हजार रुपैयाँ राहत लिएका आदि ।

के सडकमा नारा लगाउनु मात्र राष्ट्रबाद हो ? के दान दिनु र पुण्य कमाउनु हाम्रो धार्मिक-सांस्कृतिक चरित्र होइन ? जनताले राज्यप्रदत्त सहयोग लिन खोज्नु आफैंमा नराम्रो होइन तर आफूभन्दा बढी पिडीतलाई सहयोग गर्नु नितान्त मानवीय धर्म हो । मानिसहरूमा पर्याप्त त्रिपालसमेत व्यवस्था गर्न नसकेकोमा राज्यको आलोचना गर्ने तर आफ्नै घरमा आकस्मिकताको लागि तयारी नगर्ने प्रवृत्ति पनि देखियो । हुन त सहयोग दिने नाममा पनि विकृतिहरू नदेखिएका हैनन् : प्रचारमुखी सहयोग गरेको, २,४ कार्टुन चाउचाउ बाँडेर फेसबुकमा फोटो हाल्ने प्रवृत्ति बढेको, सहयोग दुर्गमसम्म नपुगेको तर सुगम स्थानमा दर्जनौ संघसंस्थाहरू पुगेकोले सहयोगमा दोहोरोपना भएको खवरहरू पनि आए ।

गाउँमा केही सहयोग सङ्कलन गर्दा चेतना पनि अभिवृद्धि हुने भएकोले  केही युवा र महिला समूहहरूसँग छलफल चलाएर दान चन्दा उठाउने कार्यक्रम अघि बढाइयो । १४० घर परिवारबाट केही रकम उठ्यो, तर आफैं राहत लिएर जानको लागि यो प्रयाप्त थिएन । त्यसकारण ७५ प्रतिशत रकम प्रधानमन्त्री राहत कोष र २५ प्रतिशत स्थानीय राहतको लागि कोष खडा गरी जम्मा पारियो । 

बेलायतमा छोरीको पढाइ सकिएर डेढ महिना छुट्टीमा केही काम गरी खर्च जोहो गर्ने योजना थियो । नेपालको हाल देखेर उनलाई बेलायत बस्न मन लागेन । उनले भनिन्,  “नेपालमा त्यस्तो परिस्थिति हुँदा आफूलाई विदेशको सुरक्षित घेरामा मात्र राखेर कुनै योगदान गर्न नसक्दा मलाई ग्लानी भइरहेको छ । म नेपाल आएर एक महिना भुइँचालो पीडित क्षेत्रमा स्वयंसेवा गर्न चाहन्छु ।” नेपालमा तत्काल उद्धारमा खट्नु पर्ने काम खास बाँकी थिएन । देश उद्धारबाट राहतमा लागिसकेको थियो । तैपनि उषा नेपाल आइन् ।

भत्किएका विद्यालय बनाउन सके हाम्रो सहयोग सदुपयोग हुने अठोटका साथ हामीले आरएसडिसीसँग अति प्रभावित मध्येको एक नुवाकोट जिल्लामा प्राथामीक विद्यालय (प्रावि) भवन निर्माण गर्ने साझेदारीको सम्झौता गर्यौं । साधुराम सापकोटालगायतका आरएसडिसीका फिल्ड स्टाफहरूले सम्भावित विद्यालयको खोजि गरिदिए र मैले फोनबाट विद्यार्थी सङ्ख्या, स्थानीय जनताको सहभागिता आदि बुझी सूर्यमति गाविसको राई (दराई) समुदायमा रहेको गणेश सूर्य प्राविमा काम गर्ने निधो गरेँ ।

केही दिन फिल्डमै बस्ने र शारीरिक श्रम गरी कार्य सम्पन्न गर्ने मनसायले उषा र म झोला झिम्टी तयार गरी आरएसडिसीका शिव बस्यालका साथ टोखा, शिवपूरी हुँदै सूर्यमति तिर लाग्यौं । टोखा काट्नासाथ भुइँचालोका गम्भिर अवशेषहरू देखिन थाले । बर्षाको पानीले खोलेर छियाँछियाँ पारेको जमिनमा पाल टाँगेर बसेको देखियो । बाटोमा काठमाण्डौ, पोखराको यात्रामा कतै नदेखेको विध्वंस देखियो । बाटोका वरपरका अधिकांश घरहरू कि त पुरै लडेका थिए, कि त केही भाग भत्किएर खण्डित भएका थिए । अनि बल्ल थाहा भयो भुइँचालोको असर कति गम्भिर रहेछ ।

तादी खोलाको वरपर हिउँदे धानका कुनियाहरू देखिन्थे । मानिसहरू बाली थन्क्याउन र लगाउन व्यस्त हुँदै थिए । कतिपय बस्नै नमिल्ने गरी भत्केका घरमा मानिसहरू बसेका र कपडा सुकाएका देखिन्थे, त कतिमा अझै पसल सञ्चालन थिए । बाटोबाट तत्कालीन अर्थमन्त्री रामशरण महत र राहतको जस्ता पाता बिक्रीको आरोप लागेका उनका सचिवको पनि घर देखिँदो रहेछ ।

हामी सूर्यमतिको मालाकोटतिर लाग्यौँ । कोमल शाहको सेरा बगैंचा काटेर तादी नदीको पुलमा पुगेपछि उत्तरतिर हेर्दा डाँडोमा नुवाकोट दरबार देखियो । देख्दा त यो खडा नै थियो तर क्षतिग्रस्त भएकोले त्यहाँ भ्रमण गर्न मनाही रहेछ । मालाकोटका धेरै घरहरू लगभग पूर्ण क्षति भएका रहेछन् । एक जना नेवार परिवारले भत्किन लागेको घरमा व्यापारलाई निरन्तरता दिँदै छेउको पाटीमा सुत्ने गर्दा रहेछन् । अरुहरू टिनले बारेर टिनैले छाएका छाप्राहरूमा बसेका रहेछन् । वर्षा धान्न नसक्ने त्रिपालमा बस्ने पीडितहरूभन्दा उनीहरू भाग्यमानी नै होलान् तर मौसम यति गर्मी थियो कि दुन बेसीको यस्तो प्रचण्ड गर्मीमा उनीहरू कसरी बसेका होलान्? मलाई अनुमान लगाउन गाह्रो भयो ।

हामी गणेश सूर्य प्राविमा गयौँ । प्रधानध्यापक दुर्गाराज पाण्डे र शिक्षक भुवन सिटौलाले हामीलाई कुरेका रहेछन् । केही समयको बातचितपछि हामीले विद्यालयको निरिक्षण गर्यौं । एउटा पनि भवन ढलेको थिएन तर प्रयोग गर्न नमिल्ने भनि नेपाल सरकारको रातो स्टिकर टाँसिएको थियो । सुरुमा त कस्तो क्षति नभएको ठाउँमा आइयोजस्तो लागेको थियो । कम खर्चिलो बाँस र टिनको प्रयोग र स्थानीय श्रम परिचालन गरी अस्थायी कोठा बनाउने चलनलाई अनुकरण गर्ने मेरो सोँच थियो । यसो गर्दा सस्तो पर्ने र हाम्रो पैसाले  दुई ओटा विद्यालयमा सहयोग गर्ने सकिने थियो । विद्यालयका प्रअ अनुभवी र असल मनसायका मानिस रहेछन् । उनका अनुसार त्यस्तो भवन केही समयपछि प्रयोगमा नआउने र सामग्रीको नोक्सान हुने, बरु केही बढी नै लागत लागे पनि फलामको ट्रस लगाउँदा भवन दीर्घकालीन र बहुउपयोगी हुने कुरामा हामीलाई आस्वस्त पारे । हामीले दोहोरोपना नआओस् र स्रोतको पूर्ण सदुपयोग होस् भनेर जिल्ला शिक्षा कार्यालयबाट तत्काल प्राप्त हुने अनुदानको पनि पूरा उपयोग गर्न सहमति गर्यौ र त्यहीअनुसार जिशिकामा गयौँ । आरएसडिसी मार्फत हाम्रो कामको लिखित जानकारी दियौँ । उषाले आफू र उसका साथीहरूले सङ्कलन गरेको अत्यावश्क औषधि हस्तान्तरण गरिन् । जिन्सी किनेर दिने हाम्रो योजना फेरेर कार्य सञ्चालनका लागि नगद पेश्की दियौँ ।

अनि हामी दोस्रो विद्यालय पञ्चकन्या प्राविमा गयौँ । यो विद्यालय पूर्ण क्षतविक्षत भएर त्यति बेलासम्म पनि सञ्चालनमा आएको रहेनछ । विद्यालय पुननिर्माण गर्ने जमीन नभएकोले जग्गा किन्न सहयोग पाइन्थ्यो कि ? भन्ने जिज्ञासा पाइयो । भुइँचालोको कारणले श्रीमतीको मानसिक तनाव बढेर उपचारको क्रममा प्रअ काठमाण्डौ बसेका रहेछन् । भत्केको भवनलाई पूरै नफाली यो विद्यालय बनाउन सम्भव थिएन । स्थानीयले आफूहरू यो काम गर्ने सक्ने स्थितिमा नरहेको बताए । मैले हाम्रो सहयोगबारे सोच्न र हामी १५ दिनपछि आउँदा जवाफ दिन अनुरोध गरेँ । तत्काल काम सुरु हुने र हामी बसेर श्रम गर्नुपर्ने कुनै सम्भावना देखिएन् । अमिलो र गह्रौं मन बनाएर हामी सोही दिन काठमाण्डौ फर्क्यौँ ।

 

खटेर केही गर्न नपाएकोमा उषामा खिन्नता र रोष देखियो । यसैबीच नेशनल युथ फेडेरेसन नेपाल (एनवाइएफएन) को स्वयंसेवाको लागि पत्रिकामा विज्ञापन देखियो । हामी उनीहरूको कार्यकालमा गयौँ । उषाले कार्यालयमा बसेर अङ्ग्रेजीमा प्रतिवेदन र अन्य ‘डकुमेन्ट’ बनाउने र दाताहरूलाई पत्राचार गर्ने काम तय भयो । म भोलिपल्ट पोखरा फर्किएँ । साँझतिर उषाको फोन आयो: “यहाँ केही काम छैन । काम गर्ने दुई जना दिदीहरू ‘साइको सोसल काउन्सिलिङ’ (हरेक आइएनजीओ र तिनका साझेदारहरूको मुखमा झुण्डिएको बहुप्रचलित ‘जार्गन’)  तालिममा लागे । मैले गर्ने भनेको काम म घरबाटै गर्नु सक्छु ।”

जुनको अन्तमा उषाको ‘ग्राजुएसन’को लागि हामी युके जाने क्रममा फेरी नुवाकोट गयौँ । एएफसी नामक फान्सेली संस्थाले स्थानीय महिलाहरूलाई समूह बनाइ भत्केका संरचना हटाउन पैसा दिएर काममा लगाएको रहेछ । एकातिर थोरै घण्टा काम गरेर पूरै पैसालिने गरेको देखियो भने, अर्कोतर्फ बैदेशिक रोजगारीको कारण ठूलाठूला संरचना हटाउन चाहिने पर्याप्त पुरुष जनशक्ति देखिएन | तैपनि सो सहयोगमा उनीहरूले विद्यालय सफाइ गर्ने र हाम्रो सहयोगमा सरकारी अनुदानको समेत परिचालन गरी ट्रस सहितको भवन निर्माण गर्न तयार रहेको जानकारी दिए । सोहीअनुसार सम्झौता गरी हामी बेलायत गयौँ । मैले नेपाल अध्ययन केन्द्रका साथीहरूलाई छुटेका स्वयंसेवीहरूसँग पनि चन्दा उठाउन आग्रह गरेँ र उषा र साथीहरूले पनि केही रकम सहयोग गरे । अन्तत: थप सहयोग उठाएर  ह्वाइट बोर्डसहित शैक्षिक सामग्री लिएर केन्द्रका सल्लहकार डेविड गेल्नर, मित्र कियारा लिटिजासहित हामी जुलाई २६ मा नुवाकोट गयौँ । दुवै भवन तयार भएका रहेछन् । दोस्रो भवन झन ठूलो बनेको रहेछ । चर्पीको आवश्यकता र माग भए पनि हामीसँग स्रोत नभएकोले हामी विदा मागेर फर्क्यौं ।

 

छलफल

नेपालमा भुइँचालो गएदेखि नै उद्धार तथा राहतमा राष्ट्रिय र अन्तर्राष्ट्रिय हिसावले ठूलो आर्थिक, भौतिक र मानवीय साधन स्रोत परिचालन भएको छ । भुइँचालोको बारेमा धेरै प्राज्ञिक र बौद्धिक छलफलहरू भइसकेका छन् र यो क्रम जारी छ । यो प्रकाशन पनि त्यसैको घोतक हो । पुनर्निर्माणसम्बन्धी विषयमा (अन्तराष्ट्रिय) एनजीओ उद्योग नै सञ्चालन हुन् थालेको छ । पुनर्निमाणका लागि ४.४ अर्ब युएस डलर बराबरको वैदेशिक सहयोगको बाचा भइसकेको छ । भलै स्वायत्त पुनर्निमाण प्राधिकरण कानुनी आधार पूरा नहुँदा अड्केर बसेको छ र सारा पुनर्निर्माणको काम धरापमा परेको अवस्था छ ।

माथिको मेरो भोगाइका पाटाहरूका आधारमा एउटा महत्वपूर्ण छलफलको विषय भनेको भुइँचालोको राहत तथा पुनर्निर्माणमा सरकार र  गैरसरकारी (त्यसमा पनि विदेशी) संस्थाहरूमध्ये प्रभावकारी र विश्वसनीय कुन चाहीं हो भन्ने हो । यो बहसको परिणाम के हुन्छ भन्ने कुरालाई नेपाल सरकारको शासकीय कुशलता र विश्वसनीयताले अवश्य तय गर्दछ । तर पनि यो नवउदारवादसँग जोडिएको र अब पुरानो भइसकेको छलफल विषय हो । यो लेखेमा म यो विषयमा प्रवेश गर्न चाहन्न । खालि एउटा मात्र कुरा के भन्न चाहन्छु भने (आइ)एनजीओले सरकारको स्थान लिन सक्दैनन्, ति केवल परिपुरक हुन सक्छन । आफैँले सिधै राहत वितरण गर्न चाहनेहरूले सरकारको एकद्वार प्रणालीको खुलेर विरोध गर्नु स्वभाविकै हो । तर २०४६ सालको राजनीतिक परिवर्तनपछि विश्व बैंक र अन्य बहुपक्षीय संस्थाहरूले थालेको नवउदारिकरणको पक्षपोषण गर्दै नेपालका अधिकांश सरकारी स्वामित्वका व्यावसायिक संरचनाहरू निजीकरण गर्ने अभियानका अभियन्ता अर्थमन्त्री रामशरण महतले नै यसपाली राहत वितरण मात्र हैन विभिन्न परोपकारी संस्थाहरूले सङ्कलन गरेको दान सहयोग स्वत: राज्यको कोषमा खिचिने केन्द्रिकृत नीति अवलम्वन गरेर सरकारको विश्वसनीयतालाई सङ्कटमा पारे । सरकारले संसारलाई सुसूचित गर्न सकेन । नेपालका लागि दान चन्दा उठारहेका हजारौं व्यक्ति तथा संस्थाहरू धर्मसङ्कटमा परे । अर्कोतिर तत्काल उद्धार र राहत नपाएकालाई सहयोग गर्न मानिसहरूले नियम छलेर काम गर्ने सम्भावना बढ्यो । चर्को विवाद र विरोधपछि ३ मेका दिन सरकार यो कदमबाट पछि हट्नु पर्यो । सरकार आफैंले उद्धार गर्न नसकेको परिस्थितिमा हजारौं सहयोगी हातहरूलाई उद्धारमा लाग्न दिनु पर्ने कुरा अन्तत: स्थापित भयो । उद्धार कार्यमा सुरक्षा निकाय र राष्ट्रिय योजना आयोगको अगुवाइमा तथ्याङ्क सङ्कलनमा निजामति कर्मचारीले खेलेको भूमिका प्रशंसनीय छ । केही समस्याका बावजुद राहत वितरणमा एकरुपता, सामजिक न्याय, सामजिक उत्तरदायित्व  र जवाफदेहिताको हिसावले सरकारको विकल्प देखिएन ।

मेरो भोगाइको अर्को पाटो भनेको विदेशमा बस्ने नेपालीहरूले नेपालको पीडालाई कसरी आत्मसात गर्छन भनेर नजिकबाट हेर्नु हो । 

To read full article please download the PDF file below. The article was originally published elsewhere. To cite and refer: Adhikari, K.P. (2015). 2072 Saalko Bhuinchalo, Bhogai ra Anubhuti: Paradesh ra swodesh.Nirupan [In Nepali] (Occasional Publication of Nepal Intellectual Council, Kaski). Special Issue 1 (Nov 2015).PP 134-144. (The 2015 Earthquake, experience and perception; Abroad and in Nepal.). 

Download File :- २०७२ को भूकम्प र भोगाइ preeti.pdf